२७ प्रतिशत बालबालिका दादुरा खोपबाट छुटे : Nagarik News
Posted on : December 18, 2019 by Clinic One on blog
काठमाडौं – बालबालिका १५ महिना पुगेपछि दिइने दादुरा–रुबेला खोपबाट २७ प्रतिशत बालबालिका छुटेका छन्। सोमबार परिवार स्वास्थ्य महाशाखा, बाल स्वास्थ्य शाखाले अन्य नियमित खोपको तुलनामा यो खोपबाट बढी बालबालिका छुटेको जनाएको छ। नेपालमा प्रति वर्ष ६ लाख २० हजार बालबालिका नियमित खोप लिने उमेर समूहका बालबालिका रहेका छन्। त्यसै गरी ९ महिनाभित्र लिनुपर्ने खोप लिन छुट्नेमा १० प्रतिशत बालबालिका रहेको महाशाखाले जानकारी दिएको छ। सरकारले १५ महिना भित्रका बालबालिकालाई ११ वटा खोप निःशुल्क दिँदै आएको छ। सरकारले २०४५ देखि खोप वितरण गर्दै आएको हो।
दादुरा–रुबेला खोप सरकारले पछिमात्र सुरु गरेको र नौ महिनाभित्र दिइने नियमित खोपभन्दा ढिला गरी दिइने भएकाले अभिावकहरूले आफ्नो बच्चालाई उक्त खोप छुटाउने गरेको बाल स्वास्थ्य शाखा प्रमुख डा.झलक शर्मा गौतमले बताए। सन् २०२३ भित्रमा दादुरा रुबेला अन्त्य गर्ने सरकारको लक्ष्य रहेको छ। तर अहिले पनि धेरै बालबालिका खोपबाट छुटेपछि सरकारलाई चुनौती थपिएको डा. शर्माको भनाइ छ। सबै बालबालिकालाई खोप पु¥याउनको लागि आगामी फागुन र चैतमा देशभर ‘दादुरा–रुबेला खोप अभियान’ सञ्चालन गर्ने तयारी रहेको उनले बताए।
अभियानले नियमित खोपमा छुटेका पाँच वर्ष नपुगेका बालबालिकालाई फाइदा पुग्ने उनको विश्वास छ। देशभरका ४५ हजार खोप केन्द्रबाट अभियान मार्फत बालबालिकालाई खोप दिने बाल स्वास्थ्य शाखाको तयारी छ। खोपबा छुटेका बालबालिकामा दादुरा र रुबेला रोगको संक्रमण देखिएको शाखाले जनाएको छ। खोप छुटेमा गर्भवती महिलाबाट जन्मिने बच्चाहरू मुटुको रोग लाग्ने, कान नसुन्ने समस्या हुने र गर्भपतनसमेत हुने जोखीम हुने गरेको डा. शर्माको भनाइ छ।
Source : https://nagariknews.nagariknetwork.com/news/108088/